३१ असोज, काठमाडौं । जेनजी पुस्ताका युवा मिरज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने तयारी गरेका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा नयाँ दलको घोषणा गर्ने बताएका छन्।
ढुंगानाले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै पार्टी गठन वार्ता समिति गठन भइसकेको जानकारी दिएका छन्। उनका अनुसार, नयाँ दलले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार लगायतका एजेन्डा अघि सार्नेछ।
ढुंगानाले भनेका छन्, “देश अहिले गम्भीर अवस्थामा छ। देशले नयाँ बाटो खोजिरहेको छ। यस्तो परिस्थितिमा हामी नयाँ दल स्थापना गर्ने निष्कर्षमा पुगेका हौं।”
उनी नेतृत्वमा बन्ने दलले युवा पुस्ताको सहभागिता, सुशासन, पारदर्शिता र प्रणालीगत सुधारलाई प्राथमिकता दिने बताइएको छ।




