हरिबोधिनी एकादशीमा धार्मिक उल्लास : फूलको डोलीसहित बागमतीमा टाँगियो तोरण

काठमाडौँ । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले यस दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गर्ने परम्परा पालन गर्छन्।

हरिबोधिनी एकादशीलाई प्रबोधिनी एकादशी पनि भनिन्छ। धार्मिक विश्वासअनुसार, आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा विश्राममा रहेका भगवान् विष्णु आजका दिन ब्युँझिनुहुन्छ, त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

एकादशीअघि दुई दिनदेखि नै भक्तजनहरू चोखो बस्ने, जग्गे बनाएर लिङ्गो गाड्ने र एकादशीको अघिल्लो दिन सत्यनारायणको पूजा गर्ने परम्परा रहँदै आएको छ। आज मुख्य दिनमा भने बेल, पीपल, सयपत्री लगायतका फूलहरू डोरीमा उनेर डोलीमा राखी बागमती नदी तार्ने चलन छ।

जनविश्वास अनुसार, यसरी फूलको डोली नदी तार्दा पाप नष्ट हुन्छ र मृत्युपछि वैतरणी नदी तर्न सजिलो हुन्छ भन्ने मान्यता रहेको छ।
यस अवसरमा बागमतीसहित देशका विभिन्न तीर्थस्थलमा भक्तजनहरूको भीड देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर