कमजोर हुँदै गयो मोन्था चक्रवात, आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बंगालको खाडीबाट उत्पन्न मोन्था चक्रवात भने क्रमशः कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा भएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

यसैगरी दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी प्रदेशमा भने मौसम मुख्यतः सफा रहनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर