नेपालले युएईलाई २४० रनको लक्ष्य दियो, भीम सार्की र कुशल मल्लको योगदान

१९ कात्तिक, दुबई ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र अमेरिकाबीच भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ।

दुबईमा टस जितेर पहिले फिल्डिङ रोजेको घरेलु टोली युएई को निम्तोमा ब्याटिङ गर्न उत्रिएको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन जोड्यो।

नेपालले सुरुवात कमजोर गर्‍यो — ओपनर २ रनकै योगफलमा आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले टोलीलाई सम्हाल्ने प्रयास गरे। दुबैबीच दोस्रो विकेटका लागि ७४ रनको साझेदारी भयो। आसिफले ४८ बलमा ४ चौकासहित ३४ रन बनाएर रनआउट भए भने भीम सार्कीले ६८ बलमा ७ चौकासहित ४८ रनको योगदान दिए।

कप्तान रोहितकुमार पौडेल २१औं ओभरमा २ रनमै आउट भए। त्यसपछि आरिफ शेख (३०) र दीपेन्द्रसिंह ऐरी (३७) बीच ४९ रनको साझेदारी भयो। ऐरी रनआउट भए भने आरिफ पनि लामो टिक्न सकेनन्।

अन्तिम चरणमा कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा १ चौका र ३ छक्कासहित ४५ रन बनाए। सन्दीप लामिछानेले अन्तिममा १० बलमा नटआउट १५ रन थपे।

बलिङतर्फ युएईका जुनइद सिद्धिकी, मुहमद जवाहदुल्लाह र ध्रुव परासरले २–२ विकेट लिए।

जारी सिरिजमा नेपाल अहिलेसम्म जितविहीन छ। यसअघि अमेरिकाविरुद्धका दुवै खेल र युएईसँगको पहिलो खेलमा नेपाल पराजित भएको थियो।
अंकतालिकामा युएई ८ अंकसहित पुछारमा छ भने नेपाल १२ अंकसहित सातौं स्थानमा रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर