सुर्खेतमा सबैभन्दा बढी वायु प्रदूषण, देशभर प्रदूषणको स्तर बढ्दो

२३ कात्तिक, काठमाडौं — देशभर वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ। काठमाडौं उपत्यकासहित विभिन्न सहरहरूमा आज बिहानसम्मको मापनअनुसार प्रदूषणको स्तर उच्च देखिएको छ । वातावरण विभागका अनुसार आगामी दिनमा यो अझै बढ्ने अनुमान गरिएको छ।

विभागको वेबसाइटमा प्रकाशित विवरणअनुसार आज बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रदूषण सुर्खेतमा मापन गरिएको छ, जहाँ वायु प्रदूषणको स्तर १७० पीपीएम पुगेको छ।

सुर्खेतपछि दोस्रो स्थानमा भक्तपुर रहेको छ, जहाँ १३२ पीपीएम प्रदूषण मापन गरिएको छ। त्यसपछि क्रमशः दाङको देउखुरी (१२४ पीपीएम), काठमाडौंको शंखपार्क (१२३ पीपीएम) र ललितपुरको खुमलटार (१०५ पीपीएम) प्रदूषित स्थानको सूचीमा छन्।

हिजो शंखपार्कमा प्रदूषणको मात्रा ७३ पीपीएम मात्र रहेकामा आज बिहान त्यो ह्वात्तै बढेर १२३ पीपीएम पुगेको छ।

वातावरण विभागका अनुसार निकट भविष्यमा प्रदूषण थप बढ्ने सम्भावना छ। तत्काल वर्षा नहुने, हावा नचल्ने र भारतमा बढ्दो प्रदूषण नेपालसम्म उडेर आउने सम्भावनाका कारण प्रदूषण नियन्त्रण चुनौतीपूर्ण बनेको छ।

सुक्खा मौसममा कृषिजन्य अवशेष जलाउने, निर्माण कार्यमा धुलो फैलिनु, र वातावरणमैत्री नीतिको कमी वायु प्रदूषणका प्रमुख कारण मानिन्छन्।

प्रतिक्रिया
सम्बन्धित खबर