मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रकरण विवादित बनेपछि सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई पदमुक्त गरी सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
शिक्षामन्त्री महावीर पुनका अनुसार, “उहाँले गरेका कार्य र त्यसका आधारमा क्याबिनेटले राष्ट्रपतिसमक्ष पदमुक्त गर्ने सिफारिस गरेको हो,” उनले बताएका छन्।
प्रदेश प्रमुख सुवेदीले सोमबार बिहान सबेरै एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ खुवाएकी थिइन्। बिहान करिब चार–पाँच बजेतिर बर्दिबास–सिन्धुली सिमानास्थित पानस होटलमा भएको शपथग्रहण समारोह सार्वजनिक भएपछि राजनीतिक हलचल चुलिएको हो।
यादव मुख्यमन्त्री नियुक्त भएसँगै उनले सानो आकारको मन्त्रिपरिषद गठन गरेका छन्। एमाले सांसद लखनदास तत्मा, संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरन्नुम र राप्रपाकी कञ्चन बिच्छा मन्त्री बनेका छन्। तीनै जनाको शपथ पनि सोही होटलमा गरिएको थियो।
तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीसँग सल्लाहबिना मन्त्री बनेकाहरूलाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन्।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनार (सोनल) मुख्यमन्त्री रहेका थिए। उनले शनिबार विश्वासको मत लिँदै गर्दा आफ्नै गठबन्धनभित्र मत विभाजन भएपछि सरकार ढलेको थियो। त्यसपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियामा तीव्रता आएको थियो।
प्रदेशमा बहुमतका लागि विभिन्न दलबीच शक्ति–सन्तुलनका खेल भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको सल्लाहमा सुवेदीले यादवलाई गुपचुप रूपमा मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ खुवाएको स्रोतले जनाएको छ। सुवेदी ओलीकै गृहजिल्ला झापा दमककी हुन् र २०८० फागुन २९ गते ओलीकै सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएकी थिइन्।
एमालेभित्र भने यो कदमलाई लिएर असन्तुष्टि बढेको छ। एमाले मधेस प्रदेश संसदीय दलका सचेतक हरिनारायण महतोले होटलमा शपथ गराइएको घटनाले “दलको उपहास” भएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो संवेदनशील निर्णय पार्टीभित्र छलफल नगरी गर्न नहुने थियो।
मुख्यमन्त्री सरोजकुमार यादवले भने परिस्थितिले बाध्य बनाएर होटलमै शपथ लिनुपरेको बताएका छन्। “प्रदेश प्रमुखको कार्यालयमा धर्ना र नाराजुलुस भइरहेकाले शान्त वातावरणमा शपथ लिन सम्भव थिएन। त्यसैले बर्दिबासमा शपथ लिइयो,” उनले भने।
मुख्यमन्त्री नियुक्ति र प्रदेश प्रमुख पदमुक्तिको निर्णयसँगै मधेस प्रदेशको राजनीति फेरि अस्थिरतामा पुगेको छ। जनकपुरमा मुख्यमन्त्री यादवको विरोधमा सात दल एकजुट भई प्रदर्शन गरिरहेका छन्। उनीहरूले प्रदेश प्रमुख र मुख्यमन्त्री दुवैको कदम असंवैधानिक रहेको दाबी गरेका छन्।




