काठमाडौं, २६ कात्तिक ।
विदेशी र आन्तरिक दुवै पर्यटकको आगमन बढेसँगै बागमती प्रदेशका होटल, रेस्टुरेन्ट र ट्रेकिङ व्यवसायमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार, प्रदेशका होटलको कोठा भराइ दर (अकुपेन्सी) औसत ५७ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ५१.९ प्रतिशत भन्दा बढी हो।
अध्ययनअनुसार सबैभन्दा उच्च अकुपेन्सी कात्तिक महिनामा ६७.८ प्रतिशत पुगेको छ भने सबैभन्दा कम दर माघमा ४४.७ प्रतिशत रहेको छ। साउनमा ४७.६, भदौमा ५९.७, असोजमा ५९.२, मंसिरमा ६३.७, पुसमा ५६.६, फागुनमा ६०.५, चैतमा ६३.६, वैशाखमा ५६.८, जेठमा ५४.५ र असारमा ४९.२ प्रतिशत अकुपेन्सी दर देखिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह का अनुसार, यस वर्ष पनि कात्तिक महिनाको अकुपेन्सी दर उत्साहजनक देखिएको छ। तर, यस्तो ट्रेन्ड दीर्घकालीन रूपमा कायम रहने वातावरण भने अझै बनेको छैन।
उनका अनुसार, पदयात्राका पर्यटक यो सिजनमा बढी आउने भएकाले पोखरा, मनाङ, मुस्ताङ, चितवन र लुक्ला जस्ता क्षेत्रमा होटल भरिभराउ भएका छन्।
‘मुस्ताङका केही होटलले त बुकिङ नलिनुस् भन्नुपर्ने अवस्था आयो,’ शाहले बताए, ‘आन्तरिक र विदेशी पर्यटक एकसाथ सक्रिय हुँदा अकुपेन्सी स्वाभाविक रूपमा बढेको हो।’
दुई पाँचतारे होटल बन्द हुँदा अन्यमा चाप
‘जेनजी आन्दोलन’पछि काठमाडौंका दुई पाँचतारे होटल (हिल्टन र ह्यात) बन्द हुँदा अन्य पाँचतारे होटलमा व्यापार बढेको शाहले बताए।
उनका अनुसार, सांग्रिला र अन्नपूर्ण होटल पनि हाल सञ्चालनमा नभएकाले नयाँ खुलेका ठूला होटलले राम्रो व्यापार गरिरहेका छन्।
चितवन र पोखराका होटलमा सार्वजनिक बिदाका दिन आन्तरिक र भारतीय पर्यटकका कारण राम्रो व्यवसाय भएको छ। तराईका होटलमा समेत भारतीय पाहुनाको संख्या सन्तोषजनक देखिएको छ।
सेवा क्षेत्रमा अझ सुधारको अपेक्षा
राष्ट्र बैंकको अनुमान अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ मा पनि होटल तथा सेवा क्षेत्रमा अझ सुधार हुने सम्भावना छ।
‘जेनजी आन्दोलन’पछि भदौमा विदेशी आगमन घटे पनि त्यसपछिका महिनामा सुधार हुँदै गएको छ। यसले पर्यटन आय र समग्र अर्थतन्त्र दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पर्यटक आगमनका तथ्यांक
सन् २०२५ को अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशत वृद्धि हो।
भारतबाट १७ हजार २९८, अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५ र जर्मनीबाट ६ हजार ३६६ पर्यटक आएका छन्।
कुल पर्यटकमध्ये ३१.६ प्रतिशत युरोपेली रहेका छन्, त्यसपछि २२.६ प्रतिशत दक्षिण एसियाली (सार्क) पर्यटकको हिस्सा छ।
१० महिनामा ९ लाख ४३ हजार पर्यटक
नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२५ का पहिलो १० महिनामा कुल ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल आएका छन्।
भारतबाट २ लाख ४३ हजार ३५०, अमेरिकाबाट ९३ हजार ९८५, चीनबाट ७८ हजार ९२९, बेलायतबाट ४७ हजार २६१ र बंगलादेशबाट ४५ हजार २८७ पर्यटक आएका छन्।
दक्षिण एसियाली देशबाट ३५.८ प्रतिशत, अन्य एसियाली देशबाट २०.९ प्रतिशत, युरोपबाट १९.१ प्रतिशत, अमेरिकी देशबाट १२ प्रतिशत, ओसियाना क्षेत्रबाट ४.४ प्रतिशत र अफ्रिकी देशबाट ०.४ प्रतिशत पर्यटक आएका छन्।
यसै अवधिमा १ सय ७५ टोलीका १ हजार ४५० आरोहीले पर्वतारोहण अनुमति लिएका छन्, जसबाट सरकारले २५ करोड ५१ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।
निष्कर्षमा, पर्यटक आगमन र होटल अकुपेन्सीमा भएको सुधारले नेपाली पर्यटन क्षेत्र पुनः गतिशील बन्दै गएको संकेत दिएको छ।




