फागुनमा कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मन्त्रिपरिषद्को स्वीकृति, बजेट ६३ करोड पुग्यो

काठमाडौँ,

कात्तिक २४ मा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई स्वीकृति प्रदान गरेको छ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति दिँदै प्रतियोगिताका लागि ६३ करोड रुपैयाँ बजेट अनुमोदन गरेको हो। यसअघि ५४ करोड रुपैयाँ विनियोजन गरिएकोमा थप ९ करोड रुपैयाँ थपिएको सचिवालयले जनाएको छ।

यसअघि गत बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका मन्त्री गुप्ताको अध्यक्षतामा बसेको १२३औं बोर्ड बैठकले फागुन १ देखि ७ गतेसम्म कर्णालीमा प्रतियोगिता गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मन्त्रीले सोमबार मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए।

दुई वर्षमा एकपटक आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक एक वर्ष ढिलो हुँदैछ। गत वर्ष राजनीतिक कारणले खेलकुद स्थगित भएको थियो। जेनजी आन्दोलनपछि मन्त्री बनेका बब्लु गुप्ता मन्त्री पद सम्हालेको चार महिनामै राष्ट्रिय खेलकुद आयोजना गर्न लागिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर