कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान एनपीएलको रौनकले भरिएको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज अपरान्ह ४ बजेदेखि सुरु हुँदैछ, र उद्घाटन खेल हेर्नका लागि मैदानमा दर्शकहरूको चहलपहल तीव्र बनेको छ। दर्शकदीर्घा क्रमशः भरिँदै गएको छ भने सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।
नेपालको क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमुनि खेल हुन लागेको आजको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र घरेलु टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्।
गत संस्करण सामान्य मैदानमा सम्पन्न भएको भए पनि यसपटक १० हजार दर्शक क्षमता भएको प्यारापिट निर्माण गरिएको छ र ६ वटा आधुनिक फ्लडलाइट जडान गरिएको छ, जसले प्रतियोगिताको आकर्षण झनै बढाएको छ।
गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो, र यसपटक पनि जनकपुर सोही गौरव दोहोर्याउने लक्ष्यसहित मैदान उत्रिँदैछ।
उता, काठमान्डु गोर्खाजले भने यस संस्करणका लागि जर्सी, लोगो, प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडीसमेत परिवर्तन गर्दै नयाँ सुरुवात गर्ने तयारी गरेको छ।




