सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा, अवरुद्ध सबै सेवा नियमित

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीपछि आंशिक रूपमा मात्र चलिरहेको सर्वोच्च अदालत आज मङ्सिर १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा फर्किएको छ।

गत कात्तिक २१ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट सुरक्षित रहेका मुद्दाहरू तथा अवरुद्ध सबै सेवाहरूलाई मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

पूर्ण बैठकले जारी गरेको सूचनामा भनिएको छ, “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बाँचेका कारण तोकिएको पेसी–तारेख आउन बाँकी रहेका मुद्दाहरू मङ्सिर १ गतेदेखि पूर्ववत् सुनुवाइ हुनेछ। अन्य पेसी नचढेका मुद्दाहरू कानुनअनुसार अङ्ग पूरा गरी सुनुवाइ हुनेछन्।”

आजदेखि मुद्दा, पुनरावेदन, दोहोर्‍याई पाउ, पुनरावलोकन लगायतका सबै प्रकारका निवेदन दर्ता तथा सुनुवाइका काम नियमित रूपमा सुरु भएको सर्वोच्च अदालतले जनाएको छ।

जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना तथा मुद्दा–मिसिलहरू समेत व्यापक रूपमा नष्ट भएका थिए। यद्यपि अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणाली पुनः प्राप्त (रिकभर) गर्न सफल भएको छ, जसले नियमित कार्य सञ्चालन सहज बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर