पशुपतिमा आज प्राचीन नागमणि र मणिमय गरगहनाको विशेष दर्शन

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आज प्राचीन धार्मिक तथा सांस्कृतिक महत्वका सामग्रीहरूको विशेष प्रदर्शन हुँदैछ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्याका दिन सर्वसाधारणका लागि नागमणि, मणि मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत दुर्लभ धातु–रत्नयुक्त सामग्री प्रदर्शन गर्ने परम्परा अनुरूप आज पनि दर्शन खुला गरिएको हो।

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार आज बिहान १०ः०० देखि ११ः३० बजेसम्म सुरक्षा निकायको विशेष व्यवस्थासहित नागमणि, मुकुट, कबज, एकमुखे रुद्राक्षलगायत महत्वपूर्ण सामग्रीहरू दर्शनार्थ राखिनेछन्।

यस्तै, मार्गशीर्ष कृष्ण आमावास्याका दिन यही मङ्सिर ४ गते बिहीबार पनि बिहान ९ः०० देखि ११ः४५ बजेसम्म दोस्रोपटक यी सामग्री प्रदर्शन गरिने कोषले जनाएको छ।

परम्परा अनुसार, त्रयोदशीका दिन विगत एक वर्षदेखि सुरक्षित रूपमा राखिएको सामग्री सर्वसाधारणलाई देखाइने र आमावास्याका दिन आगामी एक वर्षका लागि पुनः सुरक्षित रूपमा संरक्षणका लागि राखिँदै आएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर