पोखरामा जेनजी कार्यक्रम रोक्न एमालेले प्रयास गरेको आरोप: सुदन गुरुङको प्रतिक्रिया

काठमाडौँ । ‘हामी नेपाली’ संस्थाका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङले पोखरामा आयोजित जेनजीको कार्यक्रम बिथोल्ने प्रयास एमाले निकट समूहले गरेको आरोप लगाएका छन्।

गुरुङले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरामा जेनजी भाइ–बहिनीहरूको संगठन सुदृढ बनाउन तथा देशप्रेमी स्थानीय अभिभावक र युवासँग भेटघाटको उद्देश्यले आफूहरू त्यहाँ पुगेको बताए। तर आफूहरूको आगमनको जानकारी पाएसँगै केही समूहहरू र एमाले पक्षले कार्यक्रम रोक्न अथक प्रयास गरेको खबर आफूले पाएको गुरुङले उल्लेख गरे।

यद्यपि यसले आफूहरूको अभियान रोक्न नसक्ने स्पष्ट पार्दै गुरुङले भने, “हामी हिजो देशका लागि लडेर आएका हौँ, आज कसैसँग सामना गर्न डराउने प्रश्नै उठ्दैन। हामी सधैं सत्य र देशको पक्षमा उभिन्छौँ, जेनजी दाजुभाइ–बहिनीहरूको आवाजसँग जोडिन्छौँ र अझ सबल हुन्छौँ। झन्डा गर्वका साथ फहराउँछौँ, शिर उचालेर अघि बढ्छौँ।”

पोखरामै सोमबार सुदन गुरुङलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर