काठमाडौँ । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहा विमानस्थलमा सुन तस्करीको आरोपमा पक्राउ परेका छन्। नोभेम्बर २९ मा दोहाबाट काठमाडौँ आउँदै गरेको उडान आरए–२४० का चालक दल सदस्य तिवारीलाई भन्सार जाँचका क्रममा प्रहरीले आठ तोला सुनसहित नियन्त्रणमा लिएको हो।
घटना बाहिर आएपछि उनलाई तीन महिनाका लागि निलम्बन गरिएको बताइएको छ। तिवारी पक्राउ परेपछि उडान करिब ३५ मिनेट रोकिएको थियो।
नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटनाको पुष्टि गरेका छन्। तर नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले आफूलाई यसबारे आधिकारिक जानकारी प्राप्त नभएको र औपचारिक सूचनाबिना टिप्पणी गर्न नसक्ने प्रतिक्रिया दिएकी छन्।




