१९ मंसिर, काठमाडौं ।
आगामी राष्ट्रिय सभा तथा प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई आज एकै साथ ब्रिफिङ गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा दुवै चुनावका तयारी–सम्बन्धी विषयमा छलफल गर्न दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक बस्दैछ।
बैठकमा सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, जेनजीका प्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू तथा निर्वाचन आयोगका आयुक्तहरूको सहभागिता रहनेछ। आयोगका आयुक्तहरूले राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका तयारी, कानुनी जटिलता, स्रोत–साधनको उपलब्धता, सुरक्षा चुनौती तथा आर्थिक अवस्थाबारे विस्तृत ब्रिफिङ गर्ने जनाइएको छ।
आयोगका अधिकारीहरूका अनुसार निर्वाचनको सुनिश्चितताका लागि आवश्यक वातावरण सिर्जनामा सरकार र दलहरूको भूमिकामाथि बैठकले विशेष ध्यान केन्द्रित गर्नेछ। विशेषतः लुटिएको हतियारको मुद्दा सहित सुरक्षा पक्षबारे सरकारलाई स्पष्ट जानकारी मागिने आयोगले जनाएको छ।
आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ, जसमा १३ राजनीतिक दल सहभागी हुने भइसकेका छन्। त्यसैगरी, २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ११७ दलले मनोनयन प्रयोजनका लागि निवेदन दिइसकेका छन्। यी निवेदनहरू आयोगमा अध्ययनरत छन्।




