एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने

१९ मंसिर, काठमाडौं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स बीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ। खेल अपराह्न ४ बजे सुरु हुनेछ।

६ खेलबाट ६ अंक बटुलेको लुम्बिनीका लागि आजको खेल प्लेअफ सम्भावनाका हिसाबले निर्णायक मानिएको छ। लुम्बिनी विजयी भएमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफ दौडबाट बाहिरिनेछन्।

साविक विजेता जनकपुर बोल्ट्सको भने यस सिजनको प्रदर्शन कमजोर रहँदै आएको छ। पाँच खेलमध्ये दुई अंक मात्र जोड्न सफल जनकपुरले प्लेअफमा टिक्न आज उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्नेछ।

यता, बिहीबारको खेलमा शाहब आलमको ह्याट्रिकसहित ६ विकेटको प्रभावशाली बलिङ प्रदर्शनका आधारमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

लगातार ६ खेलमा विजय हासिल गरेको सुदूरपश्चिम रोयल्स शीर्षस्थान कायम राख्दै पहिलो क्वालिफायर खेल्ने सुनिश्चित गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर