२० मंसिर, काठमाडौं । पाकिस्तान र अफगानिस्तानका तालिबान फोर्सबीच सीमा क्षेत्रमा पुनः झडप भएको छ। विवाद बढिरहेका बेला दुवै देशले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन्।
सीमावर्ती अफगान शहर स्पिन बोल्दकमा गोलीबारी तीव्र भएपछि स्थानीय बासिन्दाले राति घर छोड्नुपरेको बीबीसीले जनाएको छ। कन्धारस्थित एक अस्पताल स्रोतका अनुसार चार जनाको शव उपचारका लागि ल्याइएको पुष्टि गरिएको छ।
गएराति करिब चार घण्टा चलेको भिडन्तको सुरु कसले गर्यो भन्नेबारे दुवै पक्षबीच आरोप–प्रत्यारोप चलेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले तालिबानले कुनै उक्साहटबिना गोलीबारी गरेको दाबी गरेका छन्। उता, तालिबानका प्रवक्ताले पाकिस्तानले आक्रमण थालेपछि आफ्नो पक्ष बाध्य भएर प्रत्युत्तर दिनुपरेको बताएका छन्।
पाकिस्तानतर्फको क्षतिको विस्तृत विवरण सार्वजनिक नभए पनि पछिल्लो केही महिनायता दुवै मुलुकबीच छिटपुट रूपमा यस्ता झडप दोहोरिइरहेको देखिएको छ। यसअघि पनि तालिबान सरकारले पाकिस्तानमाथि अफगान भूमिमा प्रवेश गरी हवाई आक्रमण गरेको आरोप लगाएको थियो।




