गोवाको नाइट क्लबमा ग्यास सिलिण्डर विस्फोट: भीषण आगलागीमा २३ जनाको मृत्यु

२१ मंसिर, काठमाडौं । भारतको गोवा राज्यस्थित अरपोरा क्षेत्रमा एक नाइट क्लबभित्र ग्यास सिलिण्डर पड्किँदा भीषण आगलागी भई २३ जनाको ज्यान गएको छ। घटना शनिबार राति करिब १२ बजे भएको पुष्टि प्रहरीले गरेको छ।

विस्फोटलगत्तै क्लबभित्र आगो फैलिँदा केही व्यक्तिको निधन जलेर र केहीको धुवाँमा निसासिएर भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये तीनजना महिला र केही विदेशी पर्यटक पनि रहेको जानकारी सार्वजनिक भएको छ।

घटनापछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त तथा स्थानीय जनप्रतिनिधिहरू तत्काल घटनास्थल पुगेका थिए। मुख्यमन्त्री सावन्तले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै गम्भीरतापूर्वक छानबिन गर्ने र दोषीमाथि कडाइका साथ कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गोवा सरकारले यस घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर