कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। अपराह्न ३:३० बजे निर्धारित खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
६ खेलमा समान २–२ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएका दुवै टोली आजको खेल प्रतिष्ठाका लागि मात्र मैदान उत्रनेछन्।
यसअघि नै सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरमा प्रवेश गरिसकेका छन्। त्यस्तै, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटर चरणमा स्थान सुरक्षित गरेका छन्।
अब मंगलबार शीर्ष स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेका विराटनगर किङ्सबीच क्वालिफायर–१ हुनेछ। बुधबार भने तेस्रो स्थानको काठमाडौँ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्सबीच एलिमिनेटर खेल हुनेछ।






