२९ मंसिर, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१ गते तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्धता जनाएको बताएका छन्।
सोमबार कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए। निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सरकार दृढताका साथ लागिपरेको उनको भनाइ थियो।
निर्वाचनलाई भयमुक्त, निष्पक्ष र शान्तिपूर्ण बनाउन शान्ति सुरक्षा कायम गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उनले यस प्रक्रियामा प्रदेश सरकारको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुने बताए। निर्वाचनपूर्व, निर्वाचन अवधिभर र निर्वाचनपछिसम्म प्रदेश सरकारको सक्रिय सहभागिता रहने गरी आवश्यक संयन्त्रहरू निर्माण गरिएको उनले जानकारी दिए।
केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुसार प्रदेश सरकारले समेत सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने विश्वास गृहमन्त्री अर्यालले व्यक्त गरे। सुरक्षा गोष्ठीमार्फत प्रदेशका सुरक्षा चुनौतीहरूको विश्लेषण, आवश्यक रणनीति तय गर्ने तथा हालसम्म भएका र आगामी तयारीबारे व्यापक छलफल गरी निष्कर्षमा पुगिने उनको भनाइ थियो।
सरकार गठन भएको तीन महिनाभित्र गृह मन्त्रालयको प्राथमिकता मुलुकको अवस्था सामान्यीकरण गरी नागरिकलाई सुरक्षाको अनुभूति गराउनु रहेको उल्लेख गर्दै उनले क्षतविक्षत सार्वजनिक कार्यालय तथा संरचनाको पुनर्स्थापना गरी सेवा प्रवाह सुचारु गर्नु चुनौतीपूर्ण भए पनि सबैको सहयोगले सम्भव भएको बताए। यस कार्यमा योगदान पुर्याउने निजी क्षेत्र र नागरिक समाजप्रति उनले आभार व्यक्त गरे।
त्यसैगरी, गृहमन्त्री अर्यालले जेनजी आन्दोलनप्रति सरकारले अपनत्व ग्रहण गर्दै मागहरूको दस्तावेजीकरण गरी सहिदका सपना पूरा गर्ने दिशामा प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच सम्झौता भई राजपत्रमा प्रकाशन भइसकेको र कार्यान्वयनको चरणमा रहेको जानकारी पनि दिए।




