मेक्सिकोमा निजी विमान दुर्घटनाग्रस्त, कम्तीमा ७ जनाको ज्यान गयो

मेक्सिको । मेक्सिकोमा भएको निजी विमान दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ । औद्योगिक क्षेत्र सान माटेओस्थित टोलुका विमानस्थल नजिकै सोमबार एक निजी विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित सात जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ ।

प्राप्त जानकारी अनुसार आकापुल्कोबाट उडेको उक्त विमान आपतकालीन अवतरण गर्ने क्रममा नजिकैको फुटबल मैदानमा झर्ने प्रयासमा थियो । तर अवतरण असफल भएपछि जहाज छेउकै एक व्यवसायिक भवनको छानामा ठोक्किँदा ठूलो आगलागी भएको हो ।

विमानमा आठ यात्रु र दुई चालक दल सदस्य दर्ता भए पनि दुर्घटनापछि केही घण्टासम्म सात जनाको शव मात्र फेला परेको बताइएको छ । बाँकी व्यक्तिको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ ।

सान मातेओ एतेन्को नगरपालिकाकी मेयर आना मुनिजले मिलेनियो टेलिभिजनलाई जानकारी दिँदै आगलागीको जोखिमका कारण आसपासका करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको बताइन् ।

घटनाको कारणबारे विस्तृत छानबिन सुरु गरिएको मेक्सिकन अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खबर