टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सैन्य प्रमुख अल–हद्दादको निधन

९ पुस, काठमाडौं । लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।

लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले टर्कीमा भएको दुर्घटनामा जनरल अल–हद्दादको निधन भएको पुष्टि गरेका हुन् । उक्त दुर्घटनामा जनरल अल–हद्दादसहित अन्य चार जनाको पनि ज्यान गएको जनाइएको छ ।

मंगलबार बेलुकी जनरल अल–हद्दाद र उनका सहयोगीहरू टर्कीको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन–५० विमानमा सवार थिए । उडानपछि सम्पर्कविहीन भएको उक्त विमानको भग्नावशेष अंकाराको दक्षिण–पश्चिम क्षेत्रमा फेला परेको बीबीसीले जनाएको छ ।

दुर्घटनाको कारणबारे टर्कीका सम्बन्धित निकायहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन् । यस घटनाले लिबियामा शोकको लहर फैलिएको छ भने अन्तर्राष्ट्रिय स्तरमा पनि गहिरो दुख व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर