सुशासन र परिवर्तन संस्थागत गर्न नयाँ शक्तिहरू एकजुट हुने : मन्त्री कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुलुकमा आएको परिवर्तनलाई संस्थागत गर्दै सुशासन मजबुत बनाउन सबै नयाँ र प्रगतिशील शक्तिहरू एकजुट हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री घिसिङले सुशासनका सवालमा कुनै पनि तहमा सम्झौता नगरेको बताए। उनले तलदेखि माथिसम्मका निकायहरूमा देखिएका कमजोरी र समस्यालाई व्यवस्थित रूपमा सम्बोधन गर्दै गल्ती गर्नेहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट गरे।

मन्त्री घिसिङले आफू राजनीतिक यात्रामा प्रवेश गरिसकेको उल्लेख गर्दै आगामी निर्वाचन मुलुकका लागि निर्णायक हुने बताए। उनका अनुसार देशको सही दिशा सुनिश्चित गर्न निर्वाचनमा नयाँ र प्रगतिशील शक्तिहरूबीच एकता अपरिहार्य छ।

“देशको परिवर्तनलाई संस्थागत गर्न र चुनावपछिको सही नेतृत्व स्थापित गर्न सबै नयाँ शक्तिहरू मिलेर अघि बढ्नुपर्छ,” उनले भने, “उपयुक्त समयमा आवश्यक निर्णय लिनेछौँ। अहिलेको मुख्य दायित्व भनेको निष्पक्ष निर्वाचन सम्पन्न गर्नु र सुशासनमार्फत जनतालाई प्रत्यक्ष राहत दिनु हो।”

उनले देशको हितलाई सर्वोपरि राख्दै सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए। नयाँ शक्तिहरूबीचको एकताले मात्रै वर्तमान चुनौतीहरूको सामना गर्न सकिने उनको दाबी थियो।

प्रतिक्रिया
सम्बन्धित खबर