शीतलहरको चपेटामा मधेश : न्यानो ओढ्ने–ओछ्याउने अभावले विपन्न बस्तीको जनजीवन कष्टकर

जनकपुरधाम।

मधेश प्रदेशमा पछिल्ला केही दिनदेखि अत्यधिक चिसो र शीतलहर बढेसँगै जनजीवन प्रभावित बनेको छ। विशेषगरी बिहान र रातको समयमा चिसो हावासँगै कुहिरो बढ्दा दलित, मुसहर तथा विपन्न समुदायका बस्तीमा जाडो असह्य बन्दै गएको छ। न्यानो कपडा, ओढ्ने–ओछ्याउनेको अभावमा वृद्ध, महिला र बालबालिकाहरू कठ्याङ्ग्रिएर रात काट्न बाध्य छन्।

धनुषाको हंसपुर नगरपालिका–२ बघचौडालगायतका गाउँबस्तीमा धेरै परिवार पराल ओछ्याएर र पातलो चादर ओढेर सुत्न विवश छन्। जाडो छल्न अँगेनामा घुर बाल्नु उनीहरूको दैनिकी बनेको छ। तर यसले स्वास्थ्यमा जोखिम बढाएको स्थानीय बताउँछन्। रातभर घुर तापेर सुत्दा धुवाँका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ।

६० वर्षभन्दा माथिका वृद्धवृद्धा र साना बालबालिका जाडोका कारण बढी प्रभावित छन्। कतिपय बालबालिका न्यानो लुगा र जुत्ताचप्पल बिना नै बिहान–साँझ बिताइरहेका छन्। खेतमा झरेका धानका बाला संकलन गरी कुटेको चामलले गुजारा चलाइरहेका परिवारका लागि कम्बल किन्नु पनि पहुँचबाहिरको विषय बनेको छ।

मधेशका अधिकांश स्थानीय तहमा यस्ता बस्ती छन्, जहाँ जाडो सुरु भएसँगै वर्षेनी यस्तै समस्या दोहोरिन्छ। तर दीर्घकालीन समाधानको सट्टा राहत वितरण सीमित र ढिलो हुने गरेको गुनासो स्थानीयको छ। केही पालिकाले विद्यालयहरूमा जाडो बिदा दिएका छन् भने कतिपय ठाउँमा दाउरा र कम्बल वितरणको तयारी भइरहेको बताइए पनि सबै लक्षित समुदायसम्म राहत पुग्न सकेको छैन।

स्थानीय सरकारका प्रतिनिधिहरूले समस्या स्वीकार गर्दै सीमित स्रोतसाधनका कारण सबैलाई तत्काल सहयोग पुर्‍याउन कठिनाइ भएको बताएका छन्। तर नागरिक समाज र अधिकारकर्मीहरूले चिसोबाट जोगाउन कम्तीमा न्यानो कम्बल, कपडा र अस्थायी ताप्ने व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिएका छन्।

मौसमविद्हरूका अनुसार अझै केही दिन शीतलहरको प्रभाव रहने सम्भावना छ। यस्तो अवस्थामा समयमै राहत र संरक्षणको व्यवस्था नगरे चिसोका कारण स्वास्थ्य समस्या बढ्न सक्ने चेतावनी उनीहरूको छ।

वर्षेनी दोहोरिने शीतलहरको पीडाबाट मधेशका विपन्न बस्तीलाई जोगाउन अस्थायी राहतसँगै दीर्घकालीन योजना आवश्यक देखिन्छ। सुरक्षित आवास, न्यूनतम न्यानो सामग्री र समयमै राज्यको पहुँच नपुगेसम्म जाडो यी समुदायका लागि मौसम मात्र नभई जीवन–संघर्षकै अर्को नाम बन्ने जोखिम कायमै छ।

प्रतिक्रिया
सम्बन्धित खबर