काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। उक्त मुद्दामा दुर्गा प्रसाईँसहित उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको छ। मुद्दाको सुनुवाइ न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा हुनेछ।
नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईँको वित्तीय कारोबारबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको थियो। त्यसपछि सीआईबीले अनुसन्धान पूरा गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
उक्त प्रतिवेदनका आधारमा सरकारी वकिलले दुर्गा प्रसाईँविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको मागसहित अभियोजन दायर गरेको हो।
यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। साथै, पीडित राहत कोषमा क्षतिपूर्ति भराउने माग पनि गरिएको थियो।
प्रसाईँमाथि विभिन्न बैंक तथा वित्तीय संस्थाका खाताहरूमा गलत कारोबार देखाउने (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने पक्षसँग आपसी कारोबार गर्ने तथा अन्य शंकास्पद वित्तीय गतिविधि गरेको आरोप लगाइएको छ। उक्त मुद्दाले वित्तीय क्षेत्रमा पारदर्शिता र उत्तरदायित्वबारे पुनः बहसलाई तिव्र बनाएको छ।




