आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ। आजदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचन सुरक्षाका लागि अस्थायी प्रहरी भर्ना गर्न आवेदन खुलाएका हुन्।
नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ। सशस्त्र प्रहरीतर्फ आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आवेदन आह्वान गरिनेछ।
नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीका लागि आज बिहानैदेखि काठमाडौं प्रहरी परिसर कार्यालयमा फाराम बुझाउनेहरूको भीड देखिएको छ। इच्छुक उम्मेदवारहरू लाइनमा बसेर दरखास्त फाराम बुझाइरहेका छन्।
आवेदन माघ १ गतेसम्म दिन सकिनेछ। सार्वजनिक बिदाका दिनसमेत फाराम बुझाउन सकिने नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयबाट फाराम लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ।
निर्वाचन प्रहरी हुनका लागि आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। २०२८ साल माघ १ गतेदेखि २०६४ साल माघ १ गतेसम्म जन्मिएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
उम्मेदवारले साधारण लेखपढ गर्न सक्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक रूपमा स्वस्थ तथा कुनै आतंककारी वा विध्वंसात्मक संगठनसँग सम्बन्ध नरहेको हुनुपर्ने मापदण्ड तोकिएको छ।
शारीरिक मापदण्डअनुसार पुरुषको न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० किलो हुनुपर्नेछ। महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ किलो हुनुपर्नेछ।
निर्वाचन प्रहरी ४० दिनका लागि नियुक्त गरिनेछ। उनीहरूलाई प्रतिदिन ८६९ रुपैयाँका दरले तलब दिइनेछ, जसअनुसार ४० दिनको कुल रकम ३४ हजार ७७६ रुपैयाँ हुनेछ। साथै ४० दिनको खाद्यान्न खर्च व्यक्तिगत बैंक खातामार्फत उपलब्ध गराइनेछ।
खटिएको स्थानमा आवतजावतका लागि एकपटक ८४६ रुपैयाँ तयारी खर्च र चार दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले १२०० रुपैयाँ खाजा खर्चसमेत उपलब्ध गराइने प्रहरीले जनाएको छ।
निर्वाचनलाई निष्पक्ष, सुरक्षित र मर्यादित बनाउन निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले यसपटक भर्नामा उल्लेख्य आकर्षण देखिएको छ।




