प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा सिफारिस, निर्णय मन्त्रिपरिषद्को हातमा

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारले तीन दिन सार्वजनिक बिदा दिनुपर्ने सिफारिस गरेको छ।

आइतबार सरकारलाई पत्राचार गर्दै आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न सुझाव दिएको हो। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार मतदानको तयारी, मतदान तथा मतगणनालाई सहज बनाउन तीन दिन बिदा आवश्यक हुने निष्कर्षसहित सिफारिस गरिएको हो।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुने तय भएको छ। आयोगको सिफारिसअनुसार अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ।

यसपटक निर्वाचन आसपासका दिनहरूमा अन्य सार्वजनिक बिदासमेत परेकाले करिब एक सातासम्म बिदा हुने सम्भावना देखिएको छ। फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा होली पर्व परेको छ। त्यसैगरी फागुन २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि परेको छ।

यदि आयोगको सिफारिसअनुसार सरकारले निर्णय गरेमा होलीदेखि महिला दिवससम्म निरन्तरजसो बिदा पर्ने अवस्था सिर्जना हुने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर