प्रतिनिधिसभा चुनावको तयारीमा धरान मेयर हर्क साम्पाङको राजीनामा

४ माघ — धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका कारण उनले आइतबार सम्पन्न कार्यपालिका बैठकमार्फत उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन्।

साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्। उनले स्थानीय तहको नेतृत्व गर्दै आएका बेला श्रम संस्कृतिको अभियानलाई प्राथमिकतामा राखेर विभिन्न विकासात्मक र सामाजिक पहलहरू अघि बढाएका थिए।

उही दिन धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि पदबाट राजीनामा दिएका छन्। उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेको छ।

स्थानीय तहका दुई प्रमुख जनप्रतिनिधिको एकैदिनको राजीनामाले सुनसरीको राजनीतिक वातावरण थप तातेको छ भने आगामी प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ को प्रतिस्पर्धा अझ रोचक बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर