चिलीमा भीषण जंगल आगलागी: १८ जनाको मृत्यु, ५० हजारभन्दा बढी विस्थापित

चिलीको केन्द्रीय तथा दक्षिणी क्षेत्रमा फैलिएको भीषण जंगल आगलागीका कारण कम्तीमा १८ जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा बढी नागरिक सुरक्षित स्थानतर्फ विस्थापित हुन बाध्य भएका छन्।

आगलागीले हजारौँ एकड क्षेत्र ढाक्दै सयौँ घर पूर्ण रूपमा नष्ट गरेको छ। बायोबियो र नुब्ले क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्, जहाँ तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको र तीव्र हावाका कारण आगो नियन्त्रण गर्न अत्यन्त कठिन भएको जनाइएको छ।

सरकारले आपतकाल घोषणा गर्दै सेनाको सहयोगमा उद्धार तथा राहत कार्य तीव्र बनाएको छ। यद्यपि, स्थानीय अधिकारीहरूका अनुसार प्रारम्भिक चरणमा राहत र उद्धारमा ढिलाइ हुँदा धेरैले ज्यान गुमाउनुपरेको हो। कतिपय बासिन्दा राति सुतिरहेका बेला आगोले घेरेपछि बाहिर निस्कन नसकी ज्यान गुमाएको बताइएको छ।

आगलागीमा घरहरूसँगै विद्यालय, चर्च तथा सवारीसाधनहरू समेत जलेर नष्ट भएका छन्। केही स्थानमा जलेका शव फेला परेपछि प्रभावित क्षेत्रमा शोक र त्रासको माहोल फैलिएको छ।

सरकारले पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आगलागी नियन्त्रण र पुनःस्थापनाका लागि दीर्घकालीन योजना अघि बढाउने जनाएको छ।

एजेनसीहरुको सहयोगमा ।

प्रतिक्रिया
सम्बन्धित खबर