काठमाडौँ — निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ८६१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले देशभर मनोनयन दर्ता प्रक्रिया जारी रहेको जानकारी दिँदै भने, “सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा भइरहेको छ।”
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज उम्मेदवारी दर्ता भइरहेको हो। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
आयोगले सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ भने सोमबारदेखि निर्वाचन आचारसंहिता पनि लागू भइसकेको छ।
देशभर हाल १ करोड ८९ लाख ३ हजार ५ सय ८९ मतदाता रहेका छन्। मनोनयन प्रक्रियाका लागि आवश्यक मतदाता नामावलीसहितका सामग्री सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा पठाइसकिएको आयोगले जनाएको छ।




