निर्वाचनअघि मन्त्रीहरूको राजीनामा, प्रधानमन्त्री सुशीला कार्कीमाथि चार मन्त्रालयको अतिरिक्त जिम्मेवारी

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न मन्त्रीहरूले क्रमशः राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्रालयको अतिरिक्त जिम्मेवारी सम्हाल्नुपरेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार कार्कीले हाल रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हालिरहनुभएको छ।

हाल मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित १० जना मात्र मन्त्री रहेका छन्। अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको छ। ओमप्रकाश अर्याल गृहमन्त्रीका रूपमा कार्यरत छन् भने अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

मदनप्रसाद परियारले कृषि तथा पशुपक्षी विकास र खानेपानी मन्त्रालयको नेतृत्व गरिरहेका छन्। सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा छन् भने कुमार इङनामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन्। माधव चौलागाईले वन तथा वातावरणसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिरहेका छन्। श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहँदा बालानन्द शर्मा परराष्ट्र मन्त्रीका रूपमा कार्यरत छन्।

निर्वाचनमा प्रतिस्पर्धा गर्न मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन र बब्लु गुप्ताले पदबाट राजीनामा दिँदै आगामी फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

यससँगै निर्वाचनको तयारीसँगै सरकारको कार्यभार व्यवस्थापन प्रधानमन्त्री र सीमित मन्त्रीहरूको काँधमा केन्द्रित भएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर