जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले माघ ९ गते (शुक्रबार) दिउँसोदेखि माघ १० गते (शनिबार) बिहानसम्म देशका विभिन्न भू–भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। स्वतन्त्र मौसमविदहरूले पनि सो अवधिमा मौसममा बद्लाव आउने संकेत गरेका छन्।
यसअघि पश्चिमबाट सुख्खा हावा प्रभावशाली रहे पनि शुक्रबार दिउँसोपछि भने पानी पार्ने सम्भावनासहितको बादल नेपाल भित्रिने महाशाखाको अनुमान छ।
महाशाखाका अनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्छ।
मधेस प्रदेशमा भने यसपटक वर्षाको सम्भावना नरहेको जनाइएको छ।
बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात हुनसक्ने बताइएको छ।
त्यसैगरी लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
कर्णाली प्रदेशका केही स्थानहरूमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मौसमको अवस्थालाई ध्यानमा राखी सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।




