फागुनको पहिलो हप्ताभित्र देशभर मतपत्र पुग्ने : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र देशभरका सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याइसक्ने जनाएको छ। आयोगका अनुसार माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ, त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनेछ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघ महिनाभित्र प्रत्यक्षतर्फका सबै मतपत्र छपाइ सम्पन्न गरी फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा ढुवानी गरिसक्ने तयारी रहेको जानकारी दिए। समानुपातिकतर्फ हालसम्म करिब डेढ करोड मतपत्र छपाइ भइसकेको र बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको उनले बताए।

उनका अनुसार निर्वाचनका लागि आवश्यक ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरिएको छ। बाँकी १४ प्रकारका सामग्री माघको तेस्रो हप्ताभित्र प्राप्त गरी चरणबद्ध रूपमा ढुवानी गरिनेछ।

प्रवक्ता भट्टराईले निर्वाचनलाई प्रभावित पार्ने गलत सूचना नियन्त्रण गर्न आयोग निरन्तर सक्रिय रहेको र नियमनकारी निकायहरूसँग सहकार्य गरी आवश्यक कारबाहीको दायरामा ल्याउने काम भइरहेको उल्लेख गरे।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको नामावली प्रकाशनपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म एक हजार तीन सय ४८७ जनाको उम्मेदवारी दर्ता भइसकेको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर