सानोठिमीस्थित बाल सुधारगृहमा झडप र आगजनी, अवस्था नियन्त्रणमा

९ माघ, भक्तपुर — भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा गएराति त्यहाँ राखिएका दुई समूहबीच झडप हुँदा आगजनी र तोडफोड भएको छ।

प्रहरीका अनुसार झडप नियन्त्रणमा लिन कठिनाइ भएपछि सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। आक्रोशित समूहले मध्यरातमा आगजनी गरेपछि भक्तपुर र काठमाडौंबाट दमकल मगाई आगो निभाइएको हो।

हाल अवस्था नियन्त्रणमा आइसकेको भए पनि सुरक्षा सतर्कता बढाउँदै सुधारगृह परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थिमि प्रहरी वृत्तले जनाएको छ। आगलागी र तोडफोडबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

सानोठिमीस्थित बाल सुधारगृहमा हाल १४५ पुरुष र २४ महिला गरी कुल १६९ जना रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर