९ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज पश्चिम नेपालका विभिन्न भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म मध्यम वर्षा हुने अनुमान गरिएको छ भने बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने प्रक्षेपण छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार शुक्रबार दिउँसोदेखि पश्चिम नेपालमा बादल लाग्न सुरु हुनेछ। साँझपख सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा सुरु हुने र राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थानमा पनि यस्तै अवस्था देखिन सक्ने उनले जानकारी दिए।
त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित असिना पर्ने सम्भावना समेत रहेको छ। शुक्रबार राति देशभरका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात हुने अनुमान गरिएको छ।
शनिबारको मौसम शुक्रबारको तुलनामा केही सुधार भए पनि बदली कायमै रहने र चिसो अझ बढ्ने भएकाले स्वास्थ्यप्रति विशेष ध्यान दिन मौसमविदहरूले आग्रह गरेका छन्। वर्षा र हिमपातका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा साथै हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
यो वर्षको हिउँदयामको पहिलो ‘माघे झरी’ भएको उल्लेख गर्दै लामो खडेरीपछि भएको वर्षा र हिमपातले बालीनालीलाई लाभ पुग्ने कृषिविज्ञहरूले बताएका छन्।




