काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विश्लेषण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल बन्ने जनाएको छ। सोमबार मौसम सामान्य रहे पनि मंगलबारदेखि पश्चिमी वायु सक्रिय भई वर्षा तथा हिमपातको क्रम सुरु हुने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार सोमबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानदेखि मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। हिमाली भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सफा रहनेछ।
सोमबार राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली बढ्नेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा सुरु हुन सक्ने महाशाखाले जनाएको छ।
मंगलबार दिउँसोबाट पश्चिमी वायुको प्रभाव अझ बढ्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा बदली भई केही स्थानमा हल्का हिमपात वा वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिमका अन्य भू-भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मंगलबार राति मौसम थप खराब हुने अनुमान छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली भू-भागमा बदली बढ्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात वा वर्षा, तथा पहाडी भू-भागमा मध्यम वर्षा हुने सम्भावना छ।
तराईका थोरै स्थानमा हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ।
बुधबार मौसम प्रणाली देशभर फैलिनेछ। देशभर सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित मध्यम वर्षा तथा अन्य भू-भागमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।
बुधबार रातिबाट भने मौसममा क्रमिक सुधार आउनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने भए पनि अन्य भू-भागमा आंशिक बदली मात्र रहने महाशाखाले जनाएको छ।




