पश्चिमबाट सुरु वर्षा र हिमपात पूर्वतिर फैलिँदै, काठमाडौंमा दिउँसो हल्का पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा परेको छ। बादल विस्तारै पूर्वतिर सर्दै कोशी प्रदेशसम्म पुगेको भए पनि पूर्वतिर जाँदै गर्दा यसको प्रभाव क्रमशः कमजोर बन्दै गएको छ।

मंगलबार साँझदेखि सुदूरपश्चिमका जिल्लाहरूमा हल्का वर्षा सुरु भएको थियो। राति बित्दै जाँदा वर्षाको मात्रा र फैलावट दुवै बढेको विभागले जनाएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा २९.६ मिलिमिटर मापन गरिएको छ। पछिल्लो एक घण्टायता भने सुदूरपश्चिममा वर्षा कम हुँदै कर्णाली र लुम्बिनी प्रदेशमा बढी केन्द्रित भइरहेको छ।

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार वर्षा गराउने बादल तीव्र गतिमा पूर्वतिर सर्दै छन्, जसको प्रभावले पूर्वी पहाडी जिल्लासम्म वर्षा गराउने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा पनि आज दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको उनले बताए। “काठमाडौंमा मध्याह्नपछि पानी पर्न सक्छ, तर सबै ठाउँमा समान रूपमा नपर्न सक्छ,” पौडेलले भने। उनका अनुसार आज उपत्यकामा घाम लाग्ने सम्भावना न्यून छ।

मधेश प्रदेश तथा पूर्वी तराईका झापा लगायत केही जिल्लाबाहेक देशका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा भने वर्षासँगै हिमपातको पनि सम्भावना छ। मनाङ, मुस्ताङसहित हिमाली क्षेत्रमा मध्यम खालको हिमपात हुने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज साँझदेखि भने बादल क्रमशः हट्दै मौसममा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर