बारामा धारिलो हतियार प्रहार गरी आमाछोराको हत्या, बाबुसहित अन्य दुई घाइते

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समूहको आक्रमणमा आमाछोराको ज्यान गएको छ भने बाबुसहित अन्य दुई जना घाइते भएका छन्। मंगलबार राति घरमै सुतिरहेको अवस्थामा उनीहरूमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार जगरुप महतोकी श्रीमती सुमिन्त्रा देवी र छोरा रामईश्वर महतोको घटनास्थलमै मृत्यु भएको हो। धारिलो हतियारको प्रहारबाट जगरुप महतो गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक तुपेन्द्र श्रेष्ठका अनुसार राति करिब ३ बजेतिर अज्ञात व्यक्तिले घरमै प्रवेश गरी आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा महतो परिवारकै अन्य दुई जना पनि घाइते भएका छन्।

घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ। घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचानका लागि प्रहरी टोलीले परिवारभित्र र बाहिरका विभिन्न पक्षसँग सोधपुछ गर्दै अनुसन्धान अघि बढाएको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर