डलर मजबुत बन्दा सुनको भाउमा ठूलो गिरावट, आगामी दिनमा अझै उतारचढावको संकेत

काठमाडौं, १७ माघ — पछिल्लो समय लगातार नयाँ रेकर्ड बनाउँदै उकालो लागिरहेको सुनको भाउ शुक्रबार एकाएक ओरालो लाग्दा बजारमा चासो बढेको छ। नेपाली बजारमा बिहीबार तोलामा २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन शुक्रबार त्यत्तिकै रकमले घटेर तीन लाख १८ हजार ८ सय रुपैयाँमा झरेको छ।

सुनचाँदीको भाउमा यस्तो तीव्र उतारचढाव हुनुमा घरेलु कारण मात्र जिम्मेवार हुँदैनन्। नेपाली बजार प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय बजारसँग जोडिएको भएकाले विश्व बजारको प्रभाव यहाँ तुरुन्तै देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। बिहीबारसम्म प्रतिऔँस ५ हजार ६ सय डलरसम्म पुगेको सुन शुक्रबार घटेर ४ हजार ८९५ डलरमा सीमित भएको छ। निरन्तर नयाँ उचाइ चुमिरहेको मूल्य यसरी अचानक घटेपछि विश्व बजारमा समेत चिन्ता र चासो बढेको छ।

विश्लेषकहरूका अनुसार अमेरिकी डलर मजबुत हुन थालेपछि सुनको भाउमा दबाब परेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ (फेड) प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि फेडको राजनीतिक स्वतन्त्रता सम्बन्धी चिन्ता कम भएको र त्यसको असरस्वरूप डलर सुदृढ बनेको बताइएको छ।

यसअघि ट्रम्प निर्वाचित भएपछि एक वर्षको अवधिमा डलर सूचकांक करिब १० प्रतिशतले घटेको थियो, जसले सुनको मूल्य उकास्न सहयोग गरेको थियो। भूराजनीतिक तनाव, आर्थिक अनिश्चितता र विश्व बजारको अस्थिरताका कारण लगानीकर्ता सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित भएका थिए।

सुन दीर्घकालीन रूपमा सुरक्षित मानिने सम्पत्ति भएकाले अनिश्चितता बढ्दा यसको माग बढ्ने गर्छ। यही कारणले पछिल्लो १२ महिनामा सुनको मूल्य झण्डै ९० प्रतिशतले बढेको थियो।

तर अहिले फेड नेतृत्वबारे स्पष्टता आएपछि एकैदिन डलर सूचकांक ०.९ प्रतिशतले बढेको छ। डलर मजबुत हुँदै जाँदा लगानीकर्ताको ध्यान फेरि अमेरिकी मुद्रातर्फ मोडिन थालेको विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार निकट भविष्यमा सुनको भाउमा अझै उतारचढाव जारी रहने सम्भावना छ। सन् २०२६ को अन्त्यसम्म केही वैश्विक आर्थिक तथा भूराजनीतिक जोखिम कम हुन सक्ने अनुमानले सुनको मूल्यमा थप दबाब पर्न सक्ने संकेत देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर