आइसिसी टी–२० विश्वकप २०२६ शनिबारदेखि भारत र श्रीलंकामा सुरु हुँदैछ। दसौँ संस्करणको यस प्रतिष्ठित प्रतियोगितामा नेपालले तेस्रोपटक सहभागिता जनाउन लागेको हो। समूह ‘सी’ मा परेको नेपालले विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले समूह चरणका आफ्ना चारै खेल मुम्बईस्थित ऐतिहासिक वाङखेडे रंगशालामा खेल्नेछ। विश्वकपका लागि घोषणा गरिएको १५ सदस्यीय नेपाली टोली अनुभव र नयाँ ऊर्जाको सन्तुलित मिश्रण हो। टोलीमा शेर मल्ल मात्र विश्वकप डेब्यू खेलाडी हुन्। सोमपाल कामीले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछन् भने ९ खेलाडी दोस्रोपटक विश्वकपको अनुभव लिन लागेका छन्। शेर मल्लसहित आरिफ शेख, बसिर अहमद, नन्दन यादव र लोकेश बम पहिलोपटक विश्वकप खेल्न लागेका हुन्।

कप्तानीदेखि डेब्यूसम्म : टोलीको संरचना
रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललित राजवंशी, करण केसी, सन्दीप जोरा र सन्दीप लामिछाने लगातार दोस्रोपटक विश्वकप खेल्दैछन्। अनुभव, युवा जोश र विभिन्न भूमिकामा खेल्न सक्ने क्षमताका कारण यो टोलीलाई सन्तुलित मानिएको छ।
खेलाडीका विशेषता संक्षेपमा
कुशल भुर्तेल
आक्रामक ओपनर, पावर हिटिङ र छिटो रन बनाउने क्षमताले परिचित। आवश्यक पर्दा फिल्डिङ र बलिङमा पनि योगदान दिन सक्ने।
आसिफ शेख
ओपनिङ ब्याटर तथा पहिलो रोजाइका विकेटकिपर। स्थिर सुरुवात र दबाबमा पनि संयमित खेल उनको बलियो पक्ष।
रोहितकुमार पौडेल (कप्तान)
धैर्यशील टपअर्डर ब्याटर र परिपक्व कप्तान। इनिङ्स सम्हाल्ने र टोलीलाई नेतृत्व दिने मुख्य आधार।
सन्दीप जोरा
मध्यक्रमका आक्रामक ब्याटर। टी–२० फर्म्याटमा छिटो रन निकाल्ने क्षमता।
लोकेश बम
विस्फोटक ब्याटर, छोटो समयमा खेलको दिशा बदल्न सक्ने। विभिन्न ब्याटिङ क्रममै खेल्न सक्षम।
दीपेन्द्रसिंह ऐरी
फुर्तिला अलराउन्डर, उत्कृष्ट फिल्डिङ, प्रभावकारी बलिङ र आक्रामक ब्याटिङका कारण टोलीका ‘एक्स–फ्याक्टर’।
गुल्सन झा
युवा अलराउन्डर, परिस्थितिअनुसार खेल्न सक्ने क्षमता र ऊर्जा उनको ठूलो शक्ति।
आरिफ शेख
मिडल अर्डरका भरपर्दा ब्याटर। दबाबमा पनि इनिङ्स लम्ब्याउने क्षमता।
बसिर अहमद
बायाँ हाते अलराउन्डर। नियन्त्रणयुक्त बलिङ र उपयोगी ब्याटिङ।
सोमपाल कामी
अनुभवी बलिङ अलराउन्डर। नयाँ बलमा विकेट लिने र तल्लोक्रममा रन जोड्ने क्षमता।
करण केसी
दबाबमा खेल जिताउन सक्ने अलराउन्डर। अनुभव र जुझारुपन उनको विशेषता।
सन्दीप लामिछाने
टोलीका प्रमुख लेगस्पिनर र बलिङ आक्रमणका मुख्य हतियार।
ललित राजवंशी
किफायती बायाँ हाते स्पिनर। रन नियन्त्रण र विकेट लिने क्षमता।
नन्दन यादव
सुझबुझपूर्ण मध्यम गतिका बलर। विशेषगरी डेथ ओभरमा प्रभावकारी।
शेर मल्ल
‘मिस्ट्री’ स्पिनर, पहिलोपटक विश्वकप खेल्दै। पावरप्लेमा विकेट लिने क्षमताका कारण चर्चित।
अनुभव र नयाँ प्रतिभाको संयोजनसहित नेपाली टोलीले टी–२० विश्वकप २०२६ मा चुनौतीपूर्ण समूहमा प्रतिस्पर्धा गर्दै इतिहास रच्ने लक्ष्य लिएको छ। नेपाली क्रिकेटप्रेमीको नजर अब वाङखेडेमा हुने प्रदर्शनमा केन्द्रित छ।




