२४ माघ, काठमाडौं — अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन्। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताको खाका र मुख्य सर्तहरू सार्वजनिक गरेका हुन्।

यसअघि २ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको जानकारी दिँदै भारतमाथि लगाइएको ५० प्रतिशत आयात शुल्क घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका थिए। तर त्यसबेला सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको थिएन।
हाल जारी संयुक्त वक्तव्यअनुसार यो सम्झौताले भारतीय निर्यातकर्ताहरूका लागि करिब ३० ट्रिलियन डलर (झन्डै ४३३ खर्ब नेपाली रुपैयाँभन्दा बढी) बराबरको अमेरिकी बजार खोल्ने भारतका वाणिज्य मन्त्री पीयूष गोयलले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत यो सम्झौता भारतका लागि ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन्।
उता, ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात नगर्ने प्रतिबद्धता जनाएको, अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने तथा आगामी १० वर्षमा रक्षा सहकार्य विस्तार गर्न सहमत भएको उल्लेख छ।
सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’ घटाउने भएको छ। यसपछि भारतीय सामानमा लागू हुने आयात शुल्क १८ प्रतिशतमा कायम रहनेछ।
ह्वाइट हाउसका अनुसार अन्तरिम व्यापार सम्झौताको फ्रेमवर्क तय भइसकेको छ र यसअन्तर्गत केही प्रमुख सर्तहरूमा पनि दुवै देशबीच सहमति भइसकेको छ। यो सम्झौतालाई अमेरिका–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने कदमका रूपमा हेरिएको छ।
(अन्तर्राष्ट्रिय समाचार एजेन्सी)




