भारत–पाकिस्तान टी–२० विश्वकप खेल निर्धारित मितिमै हुने पक्का

काठमाडौं।
भारत र पाकिस्तानबीच फेब्रुअरी १५ मा तय गरिएको टी–२० विश्वकपको बहुप्रतिक्षित खेल निर्धारित मितिमै हुने निश्चित भएको छ। पाकिस्तान सरकारले भारतविरुद्धको खेलमा सहभागिता जनाउने निर्णय सार्वजनिक गरेको हो।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले यसअघि खेल खेल्ने वा नखेल्ने विषयमा आगामी २४ घण्टाभित्र निर्णय हुने बताएका थिए। तर उनको उक्त अभिव्यक्ति आएको केही घण्टामै पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत भारतविरुद्धको खेल खेल्ने औपचारिक पुष्टि गरेको छ।

यसअघि नकवीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग छलफल भइरहेको जनाउँदै तत्काल कुनै टिप्पणी गर्नु उपयुक्त नहुने बताएका थिए। उनले आईसीसीको प्रतिक्रिया प्राप्त भएपछि प्रधानमन्त्री शहबाज शरीफसँग थप परामर्श गरेर निर्णय सार्वजनिक गरिने जानकारी दिएका थिए।

यता, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले आइतबार लाहोरमा पीसीबी अध्यक्ष नकवी र आईसीसीका सहअध्यक्ष इमरान ख्वाजासँगको भेटपछि पाकिस्तानलाई भारतविरुद्धको खेल खेल्न औपचारिक अनुरोध गरेका छन्।

इस्लामले बंगलादेशप्रति पाकिस्तानले देखाएको सहयोग र तत्परताको प्रशंसा गर्दै क्रिकेटमार्फत दुई देशबीचको भाइचारा सधैं कायम रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। साथै उनले समग्र अन्तर्राष्ट्रिय क्रिकेटको हितका लागि पाकिस्तानले फेब्रुअरी १५ को खेलमा सहभागिता जनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर