१ फागुन, काठमाडौं। बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेको छ। यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।
बंगलादेशका कुल ३०० मध्ये २९९ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको थियो। शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको निधन भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो।
हालसम्म सार्वजनिक २९९ मध्ये २०६ सिटको मतगणना परिणामअनुसार बीएनपीले १६५ सिट जित्दै स्पष्ट अग्रता बनाएको छ। जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले ४५ सिट जितेको छ। जमात प्रमुख शफीकुर रहमान ढाका–१५ निर्वाचन क्षेत्रबाट विजयी भएका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३ सिट हात पारेका छन्।
बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवै क्षेत्रमा विजयी भएका छन्। उनी गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए।
सत्तामा बीएनपीको बलियो पुनरागमन
करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीले यसपटक उल्लेखनीय पुनरागमन गर्दै दुई तिहाइ नजिकको बहुमतको दाबी गरेको छ। मतदानपछि प्रतिक्रिया दिँदै तारिक रहमानले आफू प्रधानमन्त्री बने देशमा कानून–व्यवस्था सुदृढ बनाउनु पहिलो प्राथमिकता हुने बताएका थिए।
शेख हसिनाको आपत्ति
जुलाई २०२४ मा भएको विद्यार्थी विद्रोहपछि सम्पन्न भएको यो पहिलो राष्ट्रिय निर्वाचन हो। आन्दोलनपछि देश छाडेर भारत पुगेकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले उक्त दलले निर्वाचनमा भाग लिन पाएको थिएन।
हाल भारतमा निर्वासन जीवन बिताइरहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यस चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन्। अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी ढंगले सत्ता कब्जा गरी त्यही आधारमा निर्वाचन गराएको उनको आरोप छ।




