काठमाडौं । थाइल्याण्डको उत्तरी प्रान्त चियाङ माइमा यस महिनाभित्र ७२ वटा बन्धक (क्याप्टिभ) बाघको मृत्यु भएपछि अधिकारीहरू संक्रमण नियन्त्रणमा जुटेका छन्। अत्यन्त सङ्क्रामक भाइरसका कारण मृत्यु भएको आशंका गरिएको छ।
चियाङ माइस्थित क्षेत्रीय पशुपन्छी कार्यालय (रीजन ५) ले जारी गरेको वक्तव्यअनुसार बाघहरूमा क्यानाइन डिस्टेम्पर भाइरस संक्रमण देखिएको छ। साथै, पशु चिकित्सकहरूले माइकोप्लाज्मा ब्याक्टेरियालाई दोस्रो चरणको संक्रमणका रूपमा पहिचान गरेका छन्। यद्यपि, सोमचुआन रतनामुङक्लानोन, जो थाइ कृषि मन्त्रालयअन्तर्गत पशुधन विकास विभागका महानिर्देशक हुन्, उनले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै बाघहरूमा फेलाइन प्यानल्यूकोपेनिया संक्रमण देखिएको बताएका छन्।
उनका अनुसार बाघको उपचार कुकुर वा बिरालोको तुलनामा निकै जटिल हुन्छ। “कुकुर र बिरालो मानिसको नजिक बस्ने भएकाले लक्षण देखिनासाथ उपचार गर्न सकिन्छ। तर बाघ मानिससँग नजिक हुँदैनन्। जबसम्म समस्या थाहा हुन्छ, रोग गम्भीर भइसकेको हुन सक्छ,” उनले बताए।
संक्रमण चियाङ माइका पहाडी जिल्ला माए रिम र माए टेङ क्षेत्रमा फैलिएको जनाइएको छ। फेब्रुअरी ८ देखि दर्जनौँ बाघमा बिरामीको लक्षण देखिन थालेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
घटनापछि लोकप्रिय पर्यटकीय आकर्षणका रूपमा परिचित टाइगर किंगडम चियांग माई अस्थायी रूपमा बन्द गरिएको छ। उक्त स्थानमा पर्यटकलाई बाघसँग नजिकबाट फोटो खिच्ने तथा छुने सुविधा दिइन्थ्यो।
चियाङ माइ वन्यजन्तु संरक्षण कार्यालयका निर्देशक कृत्सयार्म कोङ्सात्रीले यति ठूलो संख्यामा बाघ मर्नु “असामान्य” घटना भएको बताएका छन्।
यसअघि सन् २०२४ अगस्टदेखि अक्टोबरसम्म दक्षिण भियतनाममा बर्ड फ्लुका कारण ४७ बाघ र तीन चितुवाको मृत्यु भएको थियो। त्यसैगरी सन् २००४ मा चोनबुरी प्रान्तस्थित सिराचा टाइगर चिडियाखानामा बर्ड फ्लु फैलिँदा ४४१ मध्ये १४७ बाघ मरेका वा संक्रमण फैलिन नदिन मारिएका थिए। त्यतिबेला बाघलाई खुवाइएको काँचो कुखुराको मासु संक्रमणको सम्भावित स्रोत मानिएको थियो।
हाल प्रभावित क्षेत्रहरूमा बाँकी बाघलाई बचाउन घेराबारहरू डिसइन्फेक्ट गर्ने, स्वास्थ्य परीक्षण गर्ने तथा खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ। अधिकारीहरूले संक्रमण थप नफैलियोस् भनेर उच्च सतर्कता अपनाएका छन्।
(स्रोत: अन्तर्राष्ट्रिय समाचार एजेन्सी))




