विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीको इटहरी–१७ पकलीमा ‘हामी आयौंः परिवर्तन उद्घोष सभा’ नामक कोशी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह निर्धारित समयभन्दा झन्डै तीन घण्टा ढिलो पुगे पनि समर्थकहरूको उत्साह उल्लेख्य देखिएको थियो।

कार्यक्रममा युवा–युवतीदेखि वृद्धवृद्धासम्मको उल्लेख्य उपस्थिति थियो। गायक प्रकाश सपुत ले सांगीतिक प्रस्तुति दिँदा माहोल उत्साहित बनेको थियो। यद्यपि स्थानीय उम्मेदवारहरूको मन्तव्य अपेक्षाकृत प्रभावशाली नदेखिएको प्रतिक्रिया पनि सुनिएको थियो।
रविको आक्रामक सन्देश
सभामा बोल्दै रवि लामिछानेले अबको राजनीति “गफको होइन, कामको” भएको दाबी गरे। उनले २०४६ सालपछिका सबै भ्रष्टाचार प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाउँदै प्रतिशोध होइन, हिसाब हुने बताए।
निर्माण व्यवसायी र विकास ढिलासुस्तीबारे वरिष्ठ नेता बालेन शाहको अघिल्लो अभिव्यक्तिको बचाउ गर्दै उनले “कानुनले बाँधेर काम गराउने” आशय रहेको स्पष्ट पारे। कांग्रेस सभापति गगन थापा तर्फ संकेत गर्दै उनले पुराना दलप्रति कटाक्षसमेत गरे।
सहकारी समस्याबारे उनले रास्वपा सरकारमा पुगेको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गर्ने वाचा गरे। सुकुमबासीको घरमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्ने उनको भनाइ थियो। साथै, शिक्षक र कर्मचारीलाई राजनीतिक प्रभावभन्दा बाहिर रही काममा केन्द्रित हुन आग्रह गरे।
बालेनको विकासकेन्द्रित दृष्टि
वरिष्ठ नेता बालेन्द्र शाहले पूर्वी नेपालको आर्थिक सम्भावनालाई उजागर गर्दै इटहरी र समग्र पूर्वलाई देशको “आर्थिक इन्जिन” बनाउन सकिने धारणा राखे। पूर्वी तराईका जिल्लामा पर्याप्त धान उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउन सकिने उनले बताए।
धरानको खानेपानी समस्या समाधानका लागि कोसीबाट मेकानिकल लिफ्टिङमार्फत पानी ल्याउने परियोजना अघि बढाउने, विराटनगरको उद्योग पुनर्जीवित गर्ने तथा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने योजना उनले प्रस्तुत गरे।
पर्यटन प्रवर्द्धनतर्फ उदयपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउन सकिने उनको दाबी थियो। साथै बराहक्षेत्र, मुकुमलुङ, खुवालुङ र पाथीभराजस्ता धार्मिक तथा सांस्कृतिक स्थललाई राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजना सुनाए।
खेलकुद क्षेत्रमा पूर्वबाट धेरै फुटबल खेलाडी उत्पादन हुने तथ्य उल्लेख गर्दै उनले विशेष फुटबल एकेडेमी र प्रशिक्षण केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभा मार्फत रास्वपाले कोशी प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ। रविको आक्रामक राजनीतिक शैली र बालेनको विकासमुखी प्रस्तुति सँगसँगै प्रस्तुत हुँदा समर्थकहरूमा नयाँ सम्भावनाको सन्देश प्रवाह भएको थियो।

(तस्बिर स्रोत: सागर पौडेल फेसबुक पेज)




