इरानको विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणमा अमेरिका जिम्मेवार रहेको प्रारम्भिक निष्कर्ष

काठमाडौं – इरानको मिनाब सहरस्थित एक प्राथमिक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणबारे गरिएको प्रारम्भिक अनुसन्धानले उक्त घटनामा अमेरिका जिम्मेवार रहेको संकेत गरेको छ। अमेरिकी सैन्य अनुसन्धानका अनुसार पुरानो लक्ष्यीकरण (टार्गेटिङ) डाटा प्रयोग गरिएकाले विद्यालयलाई गलत रूपमा सैन्य लक्ष्य ठानिएको देखिएको छ।

गत फेब्रुअरी २८ मा भएको आक्रमणमा विद्यालय भवनलाई टोमाहक क्रूज मिसाइलले निशाना बनाइएको थियो। सो समयमा अमेरिकी सेनाले विद्यालय नजिकै रहेको इरानी नौसेनाको अड्डालाई लक्ष्य बनाएर आक्रमण गरिरहेको थियो, जुन अड्डा पहिले सोही क्याम्पसको हिस्सा रहेको बताइएको छ।

अनुसन्धानका क्रममा अमेरिकी केन्द्रीय कमान्डले पुरानो गुप्तचर सूचनाका आधारमा उक्त स्थानलाई अझै पनि सैन्य आधार नै ठानेर आक्रमण गरेको खुलासा भएको छ।

इरानी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा १६० भन्दा बढी बालबालिकासहित कम्तीमा १७५ जनाको ज्यान गएको छ। अमेरिकी अधिकारीहरूले भने घटनाबारे थप अनुसन्धान जारी रहेको र पुरानो तथ्याङ्क किन अद्यावधिक नभएको भन्ने विषयमा पनि छानबिन भइरहेको बताएका छन्।

(स्रोत: द न्यूयोर्क टाइम्स)

प्रतिक्रिया
सम्बन्धित खबर