एकैदिन सुनको भाउमा ठूलो गिरावट — तोलामा ५,४०० रुपैयाँ घट्यो

काठमाडौं, ५ चैत — नेपाली बजारमा सुनको मूल्य एकैदिन उल्लेखनीय रूपमा घटेको छ। बिहीबार सुनको भाउ प्रतितोला ५ हजार ४ सय रुपैयाँले घट्दै ३ लाख २ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही सातादेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको देखिएको छ। यसअघि माघ १५ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी बिहीबार १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा झरेको छ। चाँदीले पनि माघ १५ गते ऐतिहासिक उच्च मूल्य ७ हजार ५०५ रुपैयाँ छोएको थियो।

समग्रमा, बहुमूल्य धातुहरूको मूल्यमा पछिल्लो समय गिरावट देखिँदा बजारमा केही राहतको संकेत देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर