काठमाडौं । वैदेशिक रोजगारमा नेपाली श्रमिक पठाउने इजाजतपत्र प्राप्त संस्थाहरूले आफूले विदेश पठाएका श्रमिकको अवस्थाबारे नियमित विवरण वैदेशिक रोजगार विभागमा उपलब्ध गराउनुपर्ने भएको छ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार इजाजतपत्र प्राप्त संस्थाले हरेक ३/३ महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थासम्बन्धी प्रगति विवरण विभागमा उपलब्ध गराउनुपर्नेछ। श्रमिकको हक, हित तथा सुरक्षालाई ध्यानमा राख्दै यस्तो विवरण अनिवार्य गरिएको विभागले जनाएको छ।
विभागले इजाजतपत्र प्राप्त संस्थालाई आफ्नै उडानबाट गएका श्रमिकको विवरणसमेत नियमित रूपमा बुझाउन निर्देशन दिएको छ। सूचनामा निम्न व्यवस्था गरिएको छ।
१५ दिनभित्र श्रमिकको विवरण बुझाउनुपर्ने
वैदेशिक रोजगारीमा गएका प्रत्येक श्रमिक सम्बन्धित गन्तव्य मुलुकमा सुरक्षित रूपमा पुगे वा नपुगेको विवरण श्रमिक विदेश पठाएको १५ दिनभित्र अनिवार्य रूपमा प्राप्त गरी अभिलेख राख्नुपर्नेछ।
सम्झौताअनुसार सेवा–सुविधा पाए/नपाएको विवरण
श्रमिकले वैदेशिक रोजगार सम्झौताअनुसार काम, तोकिएको तलब तथा अन्य सेवा–सुविधा प्राप्त गरे वा नगरेको विषयमा समेत प्रत्यक्ष सम्पर्क गरी विवरण तयार गर्नुपर्ने विभागले जनाएको छ।
२० दिनभित्र विभागमा प्रतिवेदन
इजाजतपत्र प्राप्त संस्थाले संलग्न श्रमिकको अवस्था तथा विवरणसहितको प्रतिवेदन श्रमिक उडान भएको २० दिनभित्र अनिवार्य रूपमा वैदेशिक रोजगार विभागको संस्था अनुगमन शाखामा पेश गर्नुपर्नेछ।
उक्त प्रतिवेदन विभागको [email protected] इमेलमार्फत समेत पठाउन सकिने सूचनामा उल्लेख छ।
विभागले यी निर्देशन पालना नगर्ने वा नेपाली श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने स्पष्ट पारेको छ।
यस व्यवस्थाले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको वास्तविक अवस्था, उनीहरूले पाउने सेवा–सुविधा तथा सुरक्षा अवस्थाबारे सम्बन्धित निकायलाई नियमित जानकारी प्राप्त हुने व्यवस्था गरेको छ।




