काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको छ। विशेषगरी मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भू–भागमा बढी बादल लागेको अवस्था छ।
मौसममा केही सुधार देखिए पनि आज पनि देशका केही स्थानमा चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।
यसैगरी बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा भने देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। यसअघि शुक्रबार परेको हावाहुरी र असिनापानीका कारण देशका विभिन्न स्थानमा क्षति हुनुका साथै जनजीवन प्रभावित भएको थियो।
आज पनि सम्भावित चट्याङ, हावाहुरी र असिनापानीका कारण सतर्कता अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई अनुरोध गरेका छन्।




