पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। नयाँ मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।

नयाँ समायोजनपछि तेस्रो वर्गअन्तर्गत रहेका काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ, जुन यसअघि १८७ रुपैयाँ थियो। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ। डिजेल र मट्टितेलको मूल्य पनि १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ कायम भएको छ।

नेपाल आयल निगमका अनुसार मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर