काठमाडौं । अमेरिका र इरानबीच जारी तनावका बीच वार्ताको प्रक्रिया अगाडि बढ्दै पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार उच्चस्तरीय बैठक हुने तय भएको छ।
अमेरिकी र पाकिस्तानी सञ्चारमाध्यमका अनुसार वार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डल शुक्रबार नै इस्लामाबाद आइपुग्नेछन्। पछिल्लो समय युद्धविराम भए पनि दुई देशबीचको अविश्वास र तनाव कायम रहेकाले वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।
अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। टोलीमा मध्यपूर्व मामिला हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्यारेड कुश्नर पनि सहभागी हुने बताइएको छ।
यता, इरानी प्रतिनिधिमण्डलको नेतृत्व सभामुख मोहम्मद बाघेर गालिबाफले गर्नेछन्। उनीसँगै इरानका विदेशमन्त्री अब्बास अराग्ची पनि वार्तामा सहभागी हुनसक्ने जनाइएको छ।
वार्ताको मुख्य एजेन्डामा इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक क्षेप्यास्त्र तथा हर्मुज जलमार्गजस्ता संवेदनशील विषयहरू रहनेछन्। युद्धविरामपछि पनि दुवै पक्षबीच आरोप–प्रत्यारोप जारी रहेकाले वार्ताको सफलता चुनौतीपूर्ण देखिएको छ।
अमेरिकाले इरानले केही सर्तहरू स्वीकार गरेपछि युद्धविराम सम्भव भएको दाबी गर्दै आएको छ भने तेहरानले त्यस्ता दाबी अस्वीकार गर्दै कुनै औपचारिक सहमति नभएको स्पष्ट पारेको छ। यही मतभेदका बीच इस्लामाबाद वार्ता तनाव कम गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




